आज यी प्रदेशमा चट्याङसहित वर्षा

काठमाण्डु टुडे २०८२ चैत १ गते ८:०२ मा प्रकाशित

काठमाण्डू, १ चैत- देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने केही क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली र अन्य स्थानमा आंशिक बदली रहेको छ ।

गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us