इनिशा हत्या प्रकरणः दोषीलाई कारबाही गर्न तरुण दलको माग

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एक निर्दोष किशोरीमाथि गरिएको क्रूर अपराधले समग्र समाजलाई स्तब्ध बनाएको भन्दै तरुण दलले आम नागरिकमा गहिरो आक्रोश पैदा भएको बताएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा यस्तो प्रकारको घटनाले समाजको सुरक्षा अवस्था र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताउदै घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

त्यस्तै, पीडित परिवारलाई शीघ्र न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ। महिला तथा बालबालिकामाथि भइरहेका यस्ता जघन्य अपराध नियन्त्रण गर्न राज्य अझ जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तरुण दलले घटनाको निष्पक्ष छानविनमा ढिलाइ भए वा दोषीलाई जोगाउने कुनै प्रयास भए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएको छ। आवश्यक परे देशभर न्यायको पक्षमा आवाज उठाउने र सशक्त आन्दोलन गर्न बाध्य हुने समेत जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us