महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन ।

गत २५ फागुनमा पोखराको पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो ।

प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।सांसद महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिएका छन ।

‘पूर्वमन्त्री एवं सांसदलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुचका लागि बोलाएका हौं,’ एसपी कार्कीले भने, ‘माननीयज्यूले नै गल्ती महसुस गरिसकेपछि मुद्दा अगाडि बढाउन अनिच्छुक देखिनुभयो र उहाँले पनि गल्ती महसुस गरेपछि छाडेका छौं ।’

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा जनताले नीति बनाउन जिताइसकेपछि पृथ्वीचोकमा किताब बेचिरहेका पुनसँग सांसदको काम किताब बेच्ने हो कि होइन भनेर सोधेको तर सोध्ने क्रममा आफूलाई रिस उठेको गुरुङले बताएका छन् ।

महावीरले पनि चर्केर जवाफ दिएपछि आफूलाई रिस उठेर बोलेको तर सांसदलाई अपमान गर्न हुँदैन थियो भन्ने पछि महसुस भएको विकासको भनाइ छ । कास्की प्रहरी प्रमुख कार्कीले के कारणले त्यति रिस उठेको रहेछ, सार्वजनिक ठाउँमा माननीयप्रति किन त्यस्तो व्यवहार भयो भनेर अनुसन्धानका लागि ल्याइएको तर सुनियोजित कुनै कारण नभएको र गल्ती महसुस गरेपछि छाडिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us