प्युठानमा कांग्रेसका पोखरेल र एमालेका थापाको चुनावी खर्च २४ लाख बढी

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २८ फागुन–  प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

फागुन २१ गते भएको निर्वाचनमा पोखरेलले २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् । विवरणअनुसार सवारी साधन भाडा तथा इन्धनमा ३ लाख ७५ हजार, दुई जनाको चार पटकको हवाई यात्रामा ८० हजार, २६० जनाको मतदाता प्रशिक्षणमा १ लाख ७५ हजार, ६४ वडास्तरीय प्रचार कार्यक्रममा ९ लाख ६० हजार, जिल्ला तथा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ६ लाख ४० हजार, प्रचारप्रसारमा २ लाख ४० हजार २१५ र मनोनयनमा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै एमाले उम्मेदवार सूर्य थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । उनले सवारी साधन भाडामा २ लाख ९० हजार, इन्धनमा ४५ हजार ८९, नमुना मतपत्र छपाइमा ९५ हजार, मनोनयनमा १० हजार, ६४ वडास्तरीय कार्यक्रममा ६ लाख ४० हजार, कार्यालय सञ्चालनमा १ लाख ३५ हजार, खाना तथा आवासमा २ लाख ५५ हजार, प्रेस तथा प्रचार पम्प्लेटमा ७५ हजार ४ सय र विविध शीर्षकमा ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us