नयाँ दिल्लीमा भट्टराईले भनेः युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १४:३४ मा प्रकाशित

 काठमाण्डू, २८ फागुन– पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने बताएका छन । छिमेकी देश भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन ।

उनले भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपाल विकासको पिँधमा नरहेर विश्वसँगै द्रुत विकासमा अगाडि बढ्ने समेत बताएका छन । उनले नेपाल अब भारत र चीनबीच ‘च्यापिएको’ देश नरही दुई ठूला अर्थतन्त्रलाई जोड्ने जीवन्त पुल बनेको समेत बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिमार्जन गर्दै दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा जोड दिएका छन । स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मौरिसनसँगै एउटै मञ्चमा आफ्ना धारणा राख्दै डा. भट्टराईले नेपालको पछिल्लो युवा जागरण र राजनीतिक विद्रोहप्रति आफू निकै गर्वित रहेको बताए ।

‘नेपाल लोकतन्त्र र खुलापनको मामिलामा झन्डै सय वर्ष पछाडि परेको देश थियो। तर अहिले प्रविधि, इन्टरनेट र एआईको पहुँच हाम्रा गाउँ–गाउँसम्म पुगेको छ,’ भट्टराईले भने, ‘यससँगै उदाएको नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणाली र पुराना नेताहरूविरुद्ध विद्रोह गर्ने हिम्मत गरेको छ। उनीहरू देशको नेतृत्व सम्हाल्न अघि सरेका छन् र म यसमा निकै गर्व गर्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us