सोविता गौतमको चुनावी खर्च ९ लाख ९३ हजार

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १२:२८ मा प्रकाशित

 काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन ।

गौतमले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएकी हुन ।

चितवन–३ बाट निर्वाचित गौतमका तर्फबाट निर्वाचन प्रतिनिधि कैलाश घिमिरेमार्फत बुझाइएको विवरणमा ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।

निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार चितवन–३ का प्रतिनिधिले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

गौतमले त्यो भन्दा निकै कम रकम खर्च भएको विवरण पेस गरेकी हुन्। उनले मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षण ३० हजार, नमुना मतपत्र घोषणा छपाइमा ७४ हजार २ सय, वडा स्तरीय प्रचारप्रसारमा १ लाख, सवारी साधानमा ३ लाख २५ हजार, स्टेशनरी सचिवालय प्रयोग २३ हजार ४४५ र खाद्यन्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us