काठमाण्डू, २७ फागुन– गत २१ फागुनमा सम्पन्न भएको चुनावको समीक्षाका लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ ।
पार्टीले केन्द्रीय सचिवालयदेखि लिएर उम्मेदवार तथा पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको हो । जनमत पार्टीले यो चुनावमा एक सिट पनि जित्न सकेन । पार्टीका अनुसार आज केन्द्रीय सचिवालयको बैठक बस्नेछ । त्यसपछि उम्मेदवार तथा पर्यवेक्षकहरूसँग अनलाइनमार्फत निर्वाचन समीक्षा बैठक राखिएको छ ।
भर्चुअल बैठकमा चुनावमा सहभागी उम्मेदवार र पर्यवेक्षकहरूले आफ्नो अनुभव तथा चुनावी अवस्था बारे रिपोर्ट प्रस्तुत गर्ने जनमत पार्टीले जनाएको छ । यसैगरी, भोलि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।
बिहान ११ः०० बजेदेखि सुरु हुने उक्त बैठक भर्चुअलको माध्यमबाट सञ्चालन हुने जनाइएको छ । बैठकमा केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद्का सदस्य तथा प्रदेश समन्वय समितिका प्रतिनिधिहरू सहभागी हुनेछन् ।