काठमाण्डू, २७ फागुन– प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि काठमाण्डूको नैकाप र महाराजगन्जमा दुई वटा गाडी आगजनी गरेको अवस्थामा फेला पर्याे ।
नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिक मूल सडकमा बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च. १४०१ नम्बरको मारुती भ्यान आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।
उनीहरूलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । आगजनीमा संलग्न सुमन बोहरा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका घाइते रहेको खुलेको छ ।
नेप्लीज बिजेनस डाइरेक्टरी, वान क्लब र युकेबाट प्रदान गरिएको ‘गो फन्ड’ मार्फत एउटा समूहले उनलाई २५ हजार नगद सहयोग गरेको थियो । सहयोग रकम हस्तान्तरण गरेको भिडियो इन्स्टाग्राममा राखिएको छ ।
सो भिडियोमा बोहराले आफ्नो परिचय दिँदै भनेका छन्, ‘आन्दोलनमा मान्छे बचाउँदै गर्दा अर्को समूहले तलबाट आगो लगाएपछि दुई तलाबाट हाम्फाल्दा मेरो खुट्टा भाँचिएको हो ।’
जेनजी आन्दोलनमा खुट्टा भाँचिएर उपचार गराएका बोहरा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आवद्ध भएको अनुसन्धानबाट खुलेको छ ।