सकियो समानुपातिकतर्फको मतगणना

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १३:२० मा प्रकाशित

काठमाण्डू, २७ फागुन– गत २१ फागुन भएको समानुपातिक तर्फको पनि मतगणना सकिएको सम्मपन्न भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिएका छन ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।

यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । यस अनुसार कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ । चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ ।

उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ । प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ ।

राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्नेछ । ‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ ।

सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us