डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।

तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us