काठमाण्डू, २६ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित राजुनाथ पाण्डेले बालेन्द्र बाह (बालेन) लाई प्रधानमन्त्री बनाउने पूर्वसहमतिमा दायाँबायाँ गर्न खोजिए सह्य नहुने चेतावनी दिएका छन् ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले बालेन प्रधानमन्त्री हुनेमा कुनै शंका नरहेको दाबी गरे । पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको विषयमा आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको विषयमा सञ्चारकर्मीले पाण्डेलाई प्रश्न गरेका थिए ।
पाण्डेले विगतमा भएको सहमति र निर्णयविपरीत अभिव्यक्ति नदिने रास्वपा नेताहरुलाई चेतावनी पनि दिए । उनले अर्यालको अभिव्यक्तिलाई गैरजिम्मेवारको संज्ञा दिँदै बालेन प्रधानमन्त्री नहुने कुरा जनताका लागि असह्य हुने बताए ।
‘उहाँ (अर्याल) ले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्रजिम्मेवार कुरा हो । त्यो गैह्रजिम्मेवार कुरा गरे जनताले सहनेवाला छैन’पाण्डेले भने ।
रास्वपाले बोलेको पुरा गर्ने पार्टी भन्दै पाण्डेले बालेन प्रधानमन्त्री भन्ने विषयमा कोही पनि नेतालाई दायाँबायाँ कुरा गर्ने छुट नभएको उल्लेख गरे ।
पाण्डले बालेन काठमाण्डू महानगर प्रमुख हुँदा महानगर प्रहरीको प्रमुख थिए । बालेनकै बोटाबाट उनले काठमाण्डू ३ मा टिकट पाएका थिए ।