भोली भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १८:०६ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् ।

नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा उक्त समिट हुँदैछ । उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुन लागेका हुन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् साथै, विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ । विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।

उक्त सत्रमा मार्च १४ मा भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा बोल्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us