काठमाण्डू, २४ फागुन– आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन अनुरोध गरेका छन ।
आज (आइबतार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले अहिलेको चुनावी नतिजालाई क्षणिक ‘हावाहुरी’ को संज्ञा दिंदै उनले एक–दुई वर्षभित्रै जनता फेरि आफ्नै पार्टीतिर फर्किने दाबी समेत गरेका छन ।
देशैभरि चलेको नयाँ शक्तिको उभार र स्थापित दलहरूप्रतिको वितृष्णाका कारण आफ्नो पार्टीले पनि क्षति व्यहोर्नुपरेको आशय व्यक्त गर्दै उनले यसलाई कुनै नेता वा उम्मेदवारको कमजोरी नभई ‘विशेष परिस्थितिको उपज’ भनेका छन् ।
७०–८० वर्ष इतिहास बोकेका, बृहत् सङ्गठन भएका र मधेस आन्दोलनबाट आएका सबै पार्टीको हालत यतिबेला उस्तै रहेको उनको भनाइ छ । कार्यकर्तालाई सान्त्वना दिँदै राउतले लेखेका छन्, ‘यस परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा नलिएर, परिस्थितिजन्य कुराको रूपमा स्वीकारेर अगाडि बढ्नुहोस् ।
अलिकति पनि निराश हुनै पर्दैन । जनताले दिएको आदेश स्वीकार गरौँ, जितेकालाई सरकार चलाउन दिऔँ।’ नयाँ दलहरूप्रति देखिएको अहिलेको जनआकर्षण लामो समय नटिक्ने सङ्केत गर्दै उनले सिद्धान्त र एजेन्डामा अडिग रहन जोड दिएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ, फेरि जनता हामीतिरै आउँछन्। हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेन्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ।’