उदयपुर–१ मा रास्वपाका गेलाल विजयी

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १२:१० मा प्रकाशित

काठमाण्डू, २४ फागुन– उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी हुन सफल भएका छन । ३० हजार ५९० मत ल्याएर उनी विजयी भएका हुन् ।

श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । राईले ११ हजार ६ सय ६ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरेका छन् ।

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा जोडिएका गेलालले पहिलो प्रयासमै जित निकालेका हुन् । चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा २०४२ साल वैशाखमा जन्मिएका गेलाल शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us