धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १०:५४ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– धनुषा–१ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत परेको छ ।

अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत खसेको छ । रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको छ ।

खारेज भएको उम्मदेवारले अत्यधिक मत पाएपछि त्यहाँको मतगणना परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन । उनले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार, उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले सबैभन्दा बढी ७ हजार ५६६ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ७ हजार ४२८ मत पाएका छन् भने तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत प्राप्त गरेका छन् ।

सबैभन्दा बढी मत परेका रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजीले मतगणनाको परिणाम के हुने हो भन्ने अन्योल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us