रास्वपा सानो भाँडोमा चर्को आगो लगाएको दूधजस्तै भुलुक्क उम्लिएको होः ओली

काठमाण्डु टुडे २०८२ फागुन १० गते १४:०२ मा प्रकाशित

काठमाण्डू, १० फागुन– एमाले अध्यक्ष केपी ओलीले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन स्थगनको षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

झापाको दमकमा सोमबार आयोजित एक कार्यक्रममा ओलीले निर्वाचन तयारीमा राज्य कोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेकाले कुनै पनि अवस्थामा पूर्वनिर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए ।

एमालेले चुनाव जित्ने अवस्था आएपछि स्थगित गराउने प्रयास हुन थालेको उनको भनाइ थियो ।

‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ । चुनाव स्थगित गर्न धेरै प्रयास भइराखेका छन्’, ओलीले भने ।
उनले एमाले अलबलबिना चुनावको तयारीमा लाग्ने उल्लेख गरे ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै भएको टिप्पणी गरे ।

रास्वपा आधार नभएको जोडजामवाला पार्टी भएको टिप्पणी पनि ओलीको छ । चुनाव नजितिने भएपछि अरुको झण्डा जलाउने, अरुलाई अपमान तथा बेइज्जत गर्ने काममा रास्वपा लागेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us