कैलालीमा मोटरसाइकल दुर्घटना तीन जनाको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०८२ फागुन ९ गते ९:४९ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुप प्र ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, सुप प्र०१–००९प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्की रहेको प्रहरीले जनाको छ ।

यस्तै मोटरसाइकल दुर्घटनामा अर्का एक घाइते भएका छन । सुप प्र ०१–०१०३१८७ नम्बरको मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएको र उनको उपचार जारी रहेको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दलले जानकारी दिएका छन ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् ।

योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us