आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १२:४८ मा प्रकाशित

काठमाण्डू ४ फागुन– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ ।

निर्वाचन आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो ।

आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, ‘सेतोपाटी अनलाइनले मिति २०८२–११–०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२–११–०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।

उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us