चुनावमा जित–हारलाई स्वीकार्नुपर्छ भन्नेमा स्पष्ट छुः रेनु दाहाल

काठमाण्डु टुडे २०८२ फागुन ४ गते ११:३३ मा प्रकाशित

काठमाण्डू ४ फागुन– चितवन– ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन । त्यसले आफूलाई उत्साहित बनाएको उनको तर्क छ ।

भरतपुर महानगरपालिकाकी पूर्व मेयर समेत रहेकी दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, ‘यतिबेला म चितवन–३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु ।

यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ ।’ भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ ।

निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् । उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us