अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा प्रवेश

काठमाण्डु टुडे २०८२ फागुन ३ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू आज (आइतबार) कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे । थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरले बताइन् ।

तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, सङ्घीय समाजवादी महिला महासङ्घकी सुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us