काठमाण्डू, ३ फागुन– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।
पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्यासमेत भारी कटौती गर्ने प्रस्ताव गरेको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । साथै, मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प दिने विषय पनि घोषणापत्रमा समेटिएको छ ।