मलाई अदालतले न्याय दिने विश्वास छ: रवि लामिछाने

काठमाण्डु टुडे २०८२ माघ २९ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, २९ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास रहेको बताएका छन ।

आज (बिहिबार) जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले अहिले तारिख बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे ।

सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताएका छन ।

सभापति लामिछानेले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको पनि बताएका छन ।

सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us