कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ

काठमाण्डु टुडे २०८२ माघ २९ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २९ माघ– कपिलवस्तुबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संगठन विभाग प्रमुख रिखीराम भट्टराई विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन् ।

रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन ।

वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसन्धानका क्रममा रहेको सरकारी कागजात माघ २६ गते सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

डिएसपी सिंहका अनुसार अनुसन्धानका क्रममा रहेको सरकारी कागजात सामाजिक सञ्जालमा राखेर घृणा वा द्धेष फैलाउने कार्य गरेको तथा गोपनीयता समेत भंग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बेलुका ५ बजेतिर कपिलवस्तु – २ बाट प्रहरीले भट्टराईलाई पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए। भट्टराई विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार ३ दिनको म्याद दिएको डिएसपी सिंहले जानकारी दिएका छन ।

पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us