सोलुखुम्बु, २९ माघ– प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन् ।
आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी तथा मौसम र सुरक्षा अवस्थाबारे जानकारी लिन उनी बिहीबार बिहान केही सहयोगीका साथ सोलुखुम्बु सदरमुकाम सल्लेरी पुगेकी हुन् । त्यसअघि उनी हेलिकोप्टरमा नाम्चे पुगेकी थिइन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे कार्कीलाई अवगत गराएका छन् ।
उनका अनुसार त्यस क्रममा मौसमका कारण चुनाव प्रभावित नहुने ब्रिफिङ प्रधानमन्त्रीलाई गरिएको छ ।
रावलका अनुसार प्रमुख जिल्ला अधिकारी केसीले विगतका वर्षमा फागुनमा हिमपात भएको रेकर्ड नगरेकाले यसपटक पनि हिउँ पर्ने सम्भावना कम रहेको बताइन् ।
रावलले बिहीबार र शुक्रबार प्रधानमन्त्री कार्कीले पूर्वपहाडी जिल्लाको भ्रमण गर्ने जानकारी दिए ।