काठमाण्डू, २८ माघ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो (भोली) बिहीबार नेपाल आउँदैछन ।
३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार पापारो नेतृत्वको भ्रमणदल विशेष विमानमार्फत काठमाण्डूमा अवतरण गर्ने कार्यक्रम रहेको छ । ३ दिनको भ्रमण अवधिमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत अवलोकन भ्रमण गर्नेछन् ।
भ्रमणले नेपाल र अमेरिकाबिचको दशकौँ लामो द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने विश्वास लिइएको छ । विशेष गरी मानवीय सहयोग, विपद् व्यवस्थापन तथा विश्व शान्ति स्थापना जस्ता साझा चासोका क्षेत्रहरूमा दुई देशबिचको सहकार्य र क्षमता अभिवृद्धिमा यो भ्रमणले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एडमिरल पापारोको भ्रमण टोली फाल्गुण २ मा भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ ।