काठमाण्डू, ३ माघ– शेरबहादुर देउवा समूहको कांग्रेसले निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे गरेको निर्णय विधानको व्यवस्थाविरुद्ध भएको तर्क गरेको छ ।
कांग्रेस कार्यालयमा सानेपामा बसेको सो समूहको बैठकले आयोगले यसअघिका निर्णयबाट स्थापित नजिर, देउवाकै नेतृत्वमा निरन्तर गरिएका निर्णयसँग सम्बन्धित पत्राचार एवं प्रमाणलाई समेत बेवास्ता गरी निर्णय लिएको आरोप समेत लगाएको छ ।
नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले मिति २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरुपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, शेरबहादुर देउवा सभापति रहनु भएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित जानकारीमूलक पत्राचार र बुझाइएका प्रमाणहरूलाई वेवास्ता र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको छ,’ कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा भनिएको छ ।
निर्णयमा भनिएको छ, ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ, ‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रष्ट देखिन्छ ।’
आयोगको यो निर्णयलाई मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंशको रुपमा लिएको सो समूहको ठहर छ । ‘निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ ।