काठमाण्डू, २८ भदौ– चर्चित संगीतकार चेतन सापकोटाको एउटा तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल छ ।
२४ भदौमा सिंहदरबार जल्दै गर्दा सापकोटा त्यहीं थिए । काँधमा नेपालको राष्ट्रिय झण्डा बोकेर हिंडेका सापकोटाले भिडमा कसैलाई केही भनिरहेको जस्तो देखिन्छ । एमाले निकट पत्रकार र कार्यकर्ताले सिंहदरबार जलाउने कार्यमा उनी संलग्न रहेको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्टहरु गरिरहेका छन् ।
त्यसबारे हामीले सापकोटालाई सोधेका थियौं, ‘के तपाईं सिंहदरबार जलाउन जानुभएको थियो ?
सापकोटाको जवाफ, उनकै शब्दमा
लुकाउन चाहन्न कि म एक संगीतकार हुँ । आस्थाका हिसाबले म माओवादी पनि हुँ । तर, त्यस दिन संगीतकार, माओवादी वा संगीत नाट्य परिषदको दस्य भएर सिंहदबार गएको थिइन । मेरो छोराजस्तै जेन–जी पुस्ताका धेरै नानीबाबुहरु भ्रष्टाचार, बेथितिका विरुद्ध र मुलुकको बर्बादी रोक्न सडकमा उत्रिएका थिए । अघिल्लो दिन सत्ताको निर्दयी बन्दुकले १९ जना जेन–जीको हत्या भयो । राष्ट्र रोइरहेका बेला घरमा सिरक ओढेर बस्ने कुरा भएन ।
एउटा बाबु हुनुको नाताले छोराछोरीहरुको आन्दोलनमा पर्यवेक्षककै रुपमा भए पनि जानुपर्छ भन्ने लागेर हामी केही साथीहरु निस्कियौं । मेरा केही साथीहरु मोटरसाइकल र स्कुटरमा हुनुहुन्थ्यो । म पैदलै । अनामनगरको पूर्वी गेट पुगेका थियौं । केही मानिसहरुले नेपाल टेलिभिजन जलाउन लागेको देखें । हतार–हतार हामी भित्र गयौं र टेलिजिभन जलाउन हुँदैन भन्यौं । ‘साथी हो म मान्छु हामीमा आक्रोश छ । तर, यसरी नेपालकै गौरबको रुपमा रहेको राष्ट्रिय टेलिभिजन जलाउनु हुँदैन । यो हामी जनताको सम्पत्ति हो’ भनेर रोकें । सामान्य तोडफोड बाहेक हामीले नेपाल टेलिभिजन जलाउन दिएनौं । टेलिभिजन जलाउनु हुन्न भन्नेमा मेरो अर्को पनि भावनाले काम गरेको थियो । म संगीतकार र श्रष्टा हुँ । टेलिभिजनको अर्काइभमा पहिलो पुस्ताका चर्चित श्रष्टाहरुदेखि नयाँ पुस्ताका सृजनाहरु छन् । ती पनि जलेर खरानी हुन्छन् भन्ने चिन्ताका कारण म र मेरो साथीहरु मिलेर जलाउन रोकेका हौं । रोक्न खोज्दा आक्रोशित भिडले हामीमाथि नै सरकार पक्षका मान्छे ठानेर आक्रमण गरेनन् । जे होस् टेलिभिजन जलाउनबाट रोक्न हामी सफल भयौं ।
हामी एनटिभीबाट बाहिर निस्किएर शिक्षा मन्त्रालय, संसद् सचिवालय हुँदै सिंहदरबारको दक्षिण गेटमा पुग्यौं । त्यहाँ केही नेपाली नबुझ्ने र हिन्दी मात्र बोल्नेहरुले सिंहदरबारभित्रबाट सरकारी सामान उठाएर लैजाँदै गरेका रहेछन् । (मेरो विचारमा ती भारतीय नागरिक हुन्) । अन्दोलनकारीको एक समूह आक्रोशित रुपमा उनीहरुमाथि खनियो । ‘यिनीहरुलाई मार्नुपर्छ’ भन्न थाल्यो । हामीले मान्छे मार्नु पनि हुदैन, आगजनी पनि गर्नु हुँदैन भनेर सम्झायौं । सिंहदरबार जलाउँदै हिंडेको भनेर सामाजिक सञ्जालमा फैलाइएको मेरो फोटो त्यतिबेलाकै हो ।
हामी देश जलाउन र खरानी बनाउन गएको होइन, बरु आन्दोलनका अबाञ्छित घूसपैठ होला र हाम्रा छोराछोरीहरुमाथि राज्यले अनावश्यक बल प्रयोग गर्ला भनेर ‘छोराछोरीले गरको आन्दोलनमा बाबुआमाले साथ दिनुपर्छ’ भन्ने मान्यताले हामी गएकै हो । त्यो लुटपाट र आगजनीका लागि गरिएको आन्दोलन थिएन । विशुद्ध भ्रष्टाचारको विरुद्धमा भएको आन्दोलन हो । भ्रष्टाचार चरम थियो र नेताहरुले भ्रष्टाचार गरेका रहेछन् भन्ने त उनीहरुका घरमा लुकाएर राखिएका पैसा र सुन छरसपष्ट भएबाटै पुष्टि हुन्छ ।
के यस्ता नेतालाई समर्थन गरेर हामी सचेत नागरिक घरमै बस्नुपथ्र्यो ? म जलाउन होइन, पर्यवेक्षकका रुपमा सकेको सहयोग गर्न गएको हुँ । केही मानिसहरुले राजनीतिक पूर्वाग्रह राखेर मेरोबारे भ्रम फैलाएका छन् । मलाई नेता बनाउन खोजेका छन् । श्रष्टा/कालारको अधिकारका लागि सधैं लागिपर्ने मान्छे हुँ । श्रष्टा र कलाकारका माग लेखेर कतिपटक मन्त्रालयमा फाइल बुझाएको छु । कतिपटक मन्त्री र पिएहरुलाई ह्वाट्सएपमा माग पठाएको छु । जुन अहलिे पनि मेरो मोबाइलमा सुरक्षित नै छ । भ्रमको पर्दा एक दिन अवश्यक खुल्छ । फेरि भन्छु म नेपाली जनताको ऐतिहासिक सम्पत्ति सिंहदरबार जलाउन गएको थिइँन, बरु जोखिम मोलेर अनियन्त्रित र आक्रोशित भिडमा जलाउन हुँदैन भन्ने मान्छे हुँ । म मेरो छोराछोरी पुस्ताका लागि र मेरो देशका लागि आन्दोलनमा गएकै हुँ । सिंहदरबार जलाउन गएको थिइन । मैले जलाउने मानिसहरु देखेको छु । तर, ती जेन–जी थिएनन् । अरु नै उद्देश्यले घूसपैठ गरेकाहरु थिए ।