विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्णः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन ३० गते १२:३२ मा प्रकाशित

काठमाण्डू, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको तर्क गरेका छन ।

आज (शुक्रबार) भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताएका छन । उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देश बन्ने पनि बताए ।

प्रचण्डले भने, ‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ, हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’

भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो ।

यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निस्शुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us