ओलीलाई प्रचण्डको जवाफः टियू मैले हेरैकै छु, तपाईंले हावादारी गफ दिनुभयो

काठमाण्डु टुडे २०८२ साउन २९ गते १८:२५ मा प्रकाशित

काठमाण्डू, २९ साउन– पूर्व प्रधामन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको आरोप लगाएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए ।

आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको प्रचण्डले बताएका छन । तर, हिजोमात्रै प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गर्ने क्रममा टियूको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह नै गरेका थिए ।

सोही विषयमा जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’

प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us