नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन २९ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २९ साउन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन ।

घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय सयद अफिद रहेको जिल्ला प्रहरीकार्यलयले जनाएको छ ।

ट्रक चालक मेगुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । नारायणगढबाट काठमाण्डू आउँदै गरेको केए ४३–६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको थियो ।

घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सडकमाथिबाट ढुंगा खस्दा ट्रकमा समेत क्षति पुगेको थियो ।

ट्रकमा क्षति पुगेका कारण केही समय सडक एकतर्फीमात्र सञ्चालनमा थियो । तर सडकमा खसेको ढुंगा हटाएर अहिले सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us