अध्यागमन जाँचमा शंकास्पद कागजात भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

काठमाण्डु टुडे २०८२ साउन २९ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, २९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।

विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय भएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन ।

महानिर्देशक तिवारीले भने, ‘कतिपयको कागजातमा कैफियत देखिन्छन्, एनओसी नक्कली हुन्थ्यो । अहिलेसम्म त्यस्तो अवस्थामा फिर्ता पठाएर यत्तिकै छाड्ने गरिएको थियो, ‘अब चाहिँ फिर्ता हुनेहरुलाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।’ त्यसअन्तरगत शंकास्पद कागजात भएका दुई जनालाई बिहीबार मात्र जिम्मा लगाइएको छ ।

विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो । त्यसका लागि कसैलाई फिर्ता गर्दा त्यसको कारणसमेत खुलाएर कागज अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us