ओलीको निसानामा ‘मदन भण्डारी फाउन्डेसन’

काठमाण्डु टुडे २०८२ साउन २७ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, २७ साउन– पछिल्लो केहि समय यता पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भण्डारी सँग चिडिएका छन । कुनै समय एउटै कित्तामा रहेका रहेर राजनीति गरेका उनीहरुको अहिले यहि बिषयले गर्दा दुरी बढेको छ भने दुवैले एक आर्कालाई व्यक्तिगत रुपमा झरेर अभिव्यक्ति दिन समेत पछि परेका छैनन् ।

पछिल्लो समय भण्डारीले मदन भण्डारी फाउन्डेसन माफर्त राजनीतिमा पुनरागमन गर्ने निति बनाए पछि ओलीको निसानामा परेको छ मदन भण्डारी फाउन्डेसन । एमाले अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनप्रति गम्भिर असन्तुष्टि जनाएका छन । पार्टी केन्द्रीय कमिटीको बैठकलेकाट नै भण्डारीलाई ‘राजनीतिमा प्रतिबन्ध लगाउने’ निर्णय गरेका ओलीले भण्डारीपुत्री उषाकिरण भण्डारी अध्यक्ष रहेको फाउन्डेसनमाथि धेराबन्दी थालेका हुन् । पार्टीभित्र आफू संस्थापनमा आउनुपूर्व ओलीले फाउन्डेसनमार्फत समानान्तर गतिविधि चलाएका थिए ।

एमालेको मुख्यालय च्यासलमा सोमबार आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा ओलीले फाउन्डेसनको गतिविधिप्रति असन्तुष्टि मात्र जनाएनन्, निगरानीमा रहेको संकेत गर्दै भविष्यमा कारबाहीको दायरामा ल्याउन सक्ने जनाउ दिएका छन् । ‘आगामी दिनमा के गर्छ रु कसरी जान्छ ? हेर्नुपर्ने अवस्था बनेको छ ।

त्यसका पदाधिकारीहरूका अभिव्यक्ति आदि हेर्दा कसरी जान्छ भन्ने अन्योल छ,’ ओलीले भने । मदन भण्डारी फाउन्डेसन सन् १९९९ मा स्थापना भएको संस्था हो । विगतमा फाउन्डेसनकै प्रयोग गरेर एमालेको आन्तरिक राजनीतिमा आफ्नो समूहका गतिविधि गरेका ओलीले अहिले भने आफूलाई पूर्णत अलग गर्ने प्रयास गरे । र, भने, ‘पुष्पलाल प्रतिष्ठान, मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । तर, मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । त्यो अर्को ढंगले आफैँ बनाइएको हो  ।’

त्यतिवेला एमालेले मदन–आश्रित प्रतिष्ठान बनाएको थियो । तर, प्रतिष्ठान मदन भण्डारी केन्द्रित भएको भन्दै जीवराज आश्रितको नाममा छुट्टै प्रतिष्ठान बनाइएको छ  । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको दासढुंगा दुर्घटनामा निधन भएपछि एमालेले संस्थागत रूपमा मदन–आश्रित प्रतिष्ठान गठन गरेको थियो  ।

त्यसपछि विद्या भण्डारीकै पहलकदमीमा मदन भण्डारी फाउन्डेसन गठन भएको थियो । उक्त फाउन्डेसनलाई ओलीले विगतमा राजनीतिक अस्त्रका रूपमा प्रयोग गरेका थिए । त्यही जगमा ओली एमालेको अध्यक्षमा निर्वाचित हुन सफल भएको एमालेका एक नेता स्मरण गर्छन् । ओलीले विगतमा प्रतिष्ठानहरू आन्दोलनको पक्षमा, पार्टीको पक्षमा हुने गरेको भए पनि अहिले भने केही नेताले व्यक्तिगत बनाएर ठगी खाने भाँडो बनाएको आरोप लगाए  ।

‘प्रतिष्ठानहरूमा केही व्यक्तिले पद छोड्दै नछोडेर, त्यसलाई माध्यम बनाएर, त्यहाँ काम गर्नेलाई आफ्ना समर्थकका रूपमा बुझेर अथवा बहुमत राखेर नियन्त्रणमा लिएका छन् । देशको पक्षमा, आन्दोलनको पक्षमा, विचारको पक्षमा र परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन कि व्यक्तिको ठगी खाने भाँडो बनाएका छन्,’ ओलीले भने ।

ओलीले त्यसवेला मदन–आश्रित प्रतिष्ठान खोल्नुको उद्देश्यबारे भने, ‘जतिवेला मदन–आश्रित स्मृति दिवस मनाउन नपाइने स्थिति बन्यो । श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित हुने भए  ।

त्यसो गरेपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो भनेर जन्मेको हो । तर, त्यो पार्टीप्रति, आन्दोलनप्रति निष्ठाका साथ जन्मेको हो ।’ यसअघि ओलीले ‘मदनका चार श्रीमती थिए र उनी पनि सहकारीका थिए भन्ने चर्चा हुन्थ्यो’ भन्दै असान्दर्भिक अभिव्यक्ति दिएर विवाद सिर्जना गरेका थिए । त्यति मात्र होइन ओलीले मदनले प्रतिवादन गरेको भनिएको जनताको बहुदलीय जनवादको सिद्धान्तमा आफ्नो पनि योगदान रहेको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us