एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति

काठमाण्डु टुडे २०८२ साउन २७ गते १०:५४ मा प्रकाशित

काठमाण्डू, २७ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक–अर्काविरुद्ध सार्वजनिक रुपमा आारेप प्रत्यारोप नलगाउने भद्र सहमति भएको छ ।

एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पार्टीका अरु नेताहरु सहित भएको छलफलमा एकअर्कालाई सार्वजनिक रुपमा आरोप प्रत्यारोप नलगाउन नेपाल र खनाल सहमत भएको बैठकमा सहभागी भएका एक शिर्ष नेताले जानकारी दिएका छन । ति नेताले भने, ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो ।’

पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।

नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चिडिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई उपयुक्त पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।

यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us