हार जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण हुन हुँदैनः सांसद गौतम

काठमाण्डु टुडे २०८२ साउन २६ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २६ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले मुद्दाको हार जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने तर्क गरेकी छन । आज (सोमबार) प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन ।

उनले आर्थिक अभावको कारणले धेरै नागरिकहरूले न्याय नपाएएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दन लड्दा जितेको खण्डमा कानुन व्यवसायीले पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने पनि बताएकी छन ।

उनले भनिन्, ‘मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक तय हुने कुरा उपयुक्त छैन । तर मुद्दा लड्दा पारिश्रमिक दिन सक्ने अवस्था नरहेको खण्डमा कानुन व्यवसायीले त्यस्तो मुद्दा जितेको खण्डमा पारिश्रमिक दिन सकिने व्यवस्था राख्न सकिन्छ ।’ असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने उनको तर्क छ ।

रास्वपा सांसद गौतमले भनिन्, ‘धेरै मान्छेहरू आफ्नो मुद्दा लड्नको लागि कानून व्यवसायी नपाएर एकदम दुस्खमा हुनुहुन्छ । कानुन व्यवसायीहरूले आफ्नो पारिश्रमिकको विषय अगाडि नै स्पष्ट गर्नुहुन्छ, ‘पारिश्रमिक नआउने अवस्था आएपछि कानून व्यवसायीले पनि त्यस्तो मुद्दा नलडौं जस्तो व्यवहार गर्नुहुन्छ । अन्यायमा परेको मान्छेले कानुन व्यवसायीको साथ पाएको स्थिति छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us