
काठमाण्डू, २५ असार– पूर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएकोप्रति टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले पहिला ओलीविरुद्ध व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न खोजिएकोमा उदेक लागेको प्रतिक्रिया दिएका छन् ।
‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम । हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउनुपर्छ भनेर बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु’, उनले लेखेका छन् ।
नेकपा एकीकृत समाजवादीकी नेतृत्व रामकुमारी झाँक्री पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि गरिएको टिप्पणीलाई लिएर नेता तथा कार्यकर्ताद्वारा यति बेला निकै आलोचित छिन् । पतञ्जली योगपिठको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
फौजदारी अभियोग लागेकाले नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने पार्टीभित्र र बाहिर बलियो मत बढ्दै गएको छ । पूर्वमन्त्री समेत रहेकी झाँक्रीले नेतृत्वलाई लक्षित गरी कडा अभिव्यक्ति दिएकी थिइन् । उनले पार्टी पुनर्गठन गरी अर्लि महाधिवेशन गर्नुपर्ने बताएकी थिइन् । सोही विषयलाई लिएर पार्टीले झाँक्रीसँग स्पष्टीकरण सोधेको छ ।
०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले नेकपाभित्र देखिएको विवादलाई लिएर संसद् विघटन गरेपछि भृकुटीमण्डपमा प्रचण्ड–माधव समूहले गरेको विरोध सभामा नेतृत्वको गलत कार्यशैलीको विरोध गर्न पाउनुपर्छ भनेर झाँक्रीले मुखमा कालोपट्टी लगाएर विरोध गरेकी थिइन् । ०७८ साल भदौ २ गते एमाले विभाजनमा नेपाललाई साथ दिँदै हात समातेर नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निर्वाचन आयोग पुगेकी थिइन् ।