
काठमाण्डू, २५ असार– मंगलबार साँझ उपल्लो मुस्ताङमा लेदोसहितको बाढी सामान्य अवस्थामा फर्किएको छ । चुम्जुङ खोला बाढीले त्यहाँका ६ वटा पुल ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका९४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण लेदोसहित अकल्पनीय बाढी आएको थियो ।
बाढीले त्यहाँस्थित लोमान्थाङ–४ को रिङरोड सडकको चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ को रिङरोड सडक साम्जुङमा निर्माणधिन अर्को एक गरी दुईवटा पक्की मोटरेबल पुलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । बाढीले त्यसक्षेत्रको फलामे पुल र अरु तीनवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बिचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ—४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकलाई राति सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिएका छन ।
बाढीले त्यसक्षेत्रमा पुलहरूमा क्षति पुर्याए पनि मानवीय तथा पशुचौपाया क्षति नभएको उनले जानकारी दिएका छन् । बाढीको सतह अहिले सामान्य अवस्थामा फर्किएको भएपनि मनसुन कायम रहेकाले सुरक्षा सावधानीलाई निरन्तरता दिइएको छ । त्यहाँको इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली गएरातिदेखि परिचालित रहेको डीएसपी लामाले जानकारी दिए ।
त्यहा खटिएका सुरक्षाकर्मीहरूले राति स्थानीय बासिन्दाहरूलाई हुनसक्ने सम्भावित खतराको बारेमा सुचित गराएको थियो । अहिले त्यसक्षेत्रमा बाढी लयमा फकिएको भएपनि सम्भावित जोखिमको खतरा नटेरेकाले कुनै पनि बेला फेरि बाढी आउन सक्ने भन्दै त्यहाँका स्थानीयबासीलाई आवश्यक सर्तकता अपनाउन समेत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।