पहिरोले बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाण्डु टुडे २०८२ असार २५ गते ८:४७ मा प्रकाशित

काठमाण्डू, २५ असार– पहिरोले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण दाउन्ने नजिकको खुर्साने खोलामा ठूलो पहिरो खस्दा सडक दुईतर्फी बन्द भएको हो ।

दाउन्नेबाट बर्दघाटतर्फ निर्माणाधीन सडकको छेउबाट खसेको पहिरोले बर्दघाटबाट पूर्व तथा दुम्कीबासबाट पश्चिम आउजाउ गर्ने सवारी साधन बीचमै रोकिएका छन् । सडक अबरुद्ध भएपछि रातिदेखि नै राजमार्गमा गाडीहरूको लामो लाइन लागेको छ ।

सडक मर्मतका लागि सम्बन्धित निकायले बुधवार बिहानैदेखि काम सुरु गरेको छ । मर्मत सकिएसँगै दिउँसोभित्र आवागमन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

साथै, सिद्धार्थ राजमार्गको बुटवल–दोभान खण्डमा पनि विभिन्न स्थानमा पहिरो खसेका छन् । सिद्धबाबादेखि दोभानसम्मको क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको र केही स्थानमा ढुंगामाटो हटाएर सवारी आंशिक रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

अझैपनि पहिरोको जोखिम कायमै रहेकोले यात्रा गर्दा अत्यधिक सतर्कता अपनाउन प्रहरीको सुझाव छ । वर्षा जारी रहेकाले आवश्यक सुरक्षा सावधानीका साथ मात्र सवारी सञ्चालन गर्न आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us