
काठमाण्डू, १० असार– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन । अध्यक्ष भट्टराईले आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताएका छन ।
मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् । ‘भ्रष्टाचारीहरूको यहाँ लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयत्न कसैले नगरिदिनुहोला । त्यो कसैले पत्याउँदैन,’ भट्टराईले भने, ‘हात्ति र हात्तिछाप चप्पल उस्तै हो नानु भनेर विज्ञापन गर्नु भएन, त्यो हाँस्यास्पद कुरा हुन्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराई सरकारलाई चुनौती समेत दिएका छन ।
उनले भने, ‘अहिले पनि चुनौती दिन्छु, म रेकर्डमै छु, त्यतिबेला संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनिराखेकै छु । त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन, ‘छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले नै म ठाडो चुनौती दिन चाहन्छु ।’
ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको बताएका छन् ।
पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ । युवाहरूमा चरम निरासा आक्रोश बढ्दै गएको, विदेशिनेको लर्को थपिँदै गएको, भ्रस्टाचारको चाङ उकालो लाग्दै गएको र समाग्र कृषि, वित्तीय, औद्योगिक क्षेत्रका समस्याहरू ज्यूँकात्यूँ रहेको उनको भनाइ थियो ।
त्यसकाविरुद्ध निर्णायक तहको आन्दोलन गर्नुपर्छ र देशलाई भरपर्दो अग्रगामी विकल्प दिनुपर्छ भन्ने निर्णय गरेको पनि उनले बताए । संघ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रस्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रस्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिरण बनाउन उनले माग गरेका छन् ।