
एजेन्सी– विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच आज (सोमबार) विद्यमान व्यापार युद्ध समाधान गर्ने उद्देश्यले लन्डनमा नयाँ चरणको वाता हुँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिसँग भेट्ने घोषणा गरेका थिए ।
उता बेइजिङले पनि उप–प्रधानमन्त्री हे लिफेङ वार्तामा सहभागी हुने सप्ताहन्तमा पुष्टि ग¥यो । यो वार्ता ट्रम्प र चीन राष्ट्रपति सी जिनपिङबीच गत हप्ता टेलिफोनमा कुराकानी भएपछि हुन लागेको हो । उक्त वार्तालाई अमेरिकी राष्ट्रपतिले “धेरै राम्रो कुराकानी’’ भएको प्रतिक्रिया दिएका थिए । गत महिना, विश्वका दुई ठूला अर्थतन्त्रहरूले एक अर्काबिच व्यापार भइरहेका वस्तुहरूमा आयात कर घटाउन अस्थायी युद्ध विराममा सहमति जनाएका थिए ।
तर त्यस बेलादेखि दुवै देशले एक अर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । गत शुक्रबार आफ्नो ट्रुथ नामक सामाजिक सञ्जालमा ट्रम्पले अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट, वाणिज्य सचिव हार्वर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सोमबार लन्डनमा चिनियाँ अधिकारीहरूसँग भेट्ने बताएका थिए ।
शनिबार, चीनको विदेश मन्त्रालयले जुन ८ देखि १३ सम्म बेलायतमा हुने र त्यतिबेलानै “चीन–अमेरिका आर्थिक तथा व्यापार संयन्त्र“ को बैठक पनि बस्ने बताएको थियो। नयाँ चरणको वार्ता ट्रम्पलेसीसँगको आफ्नो टेलिफोन वार्ता मुख्यतया व्यापारमा केन्द्रित रहेको र “दुवै देशका लागि धेरै सकारात्मक निष्कर्षमा पुगेको“ बताएपछि हुन लागेको हो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, सीले ट्रम्पलाई अमेरिकाले “चीन विरुद्ध लिएका नकारात्मक प्रावधानहरू फिर्ता लिनुपर्छ“ भनेका थिए ।
यो कुराकानी दुई नेताबिच फेब्रुअरीमा व्यापार युद्ध सुरु भएयता पहिलो पटक भएको थियो । ट्रम्पले यस वर्षको सुरुमा धेरै देशबाट गरिने आयातमा व्यापक भन्सार घोषणा गर्दा, चीन सबैभन्दा बढी प्रभावित भएको थियो । बेइजिङले पनि आयातमा अमेरिकाले लगाएका उच्च दरहरू लगाएर जवाफी कारबाही गरेको थियो । चिनिया वस्तु आयातमा अमेरिकाले आयात शुल्क बढाएर १४५ प्रतिशत पुर्याएको थियो ।
गत मे महिनामा, स्विट्जरल्याण्डमा भएको वार्ताले दुवै देशबिच एक अस्थायी युद्ध विराम भएको थियो । उक्त युद्ध विरामलाई ट्रम्पले “पूर्ण रिसेट“ भनेका थिए । त्यही वार्ताले चिनियाँ उत्पादनहरूमा अमेरिकी भन्सारलाई ३० प्रतिशतमा झारेको थियो ।
उता बेइजिङले अमेरिकी आयातमा लाग्ने शुल्कलाई १० प्रतिशतमा घटायो र महत्त्वपूर्ण खनिज निर्यातमा रहेका अवरोधहरू हटाउने प्रतिबद्धता व्यक्त ग¥यो। सो सम्झौताले दुवै पक्षलाई व्यापार सम्झौतामा पुग्न ९० दिनको समयसीमा दिएको थियो । बेइजिङले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले युद्ध विराम को बाबजुद मे महिनामा चीनको निर्यात अनुमान गरेभन्दा कम रहेको देखाएको छ ।