भूमि विधेयक संसद्‍मा प्रस्तुत, हदबन्दी बढीको जग्गामा घर बनाएर बेच्न पाइने

काठमाण्डु टुडे २०८२ जेठ १ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि विधेयकमा विरोधको सूचना प्रस्तुत गरिएको थियो ।

उक्त प्रस्ताव अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो । विरोधको सूचना नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका थिए । त्यसक्रममा उनले भूमिको सही सदुपयोग हुनुपर्ने, जमिन जोत्नेले पाउनुपर्ने, हदबन्दी बाहेकको जग्गा स्वतः सरकारको हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका थिए ।

जवाफ दिंदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले २०२१ को ऐन कार्यान्वयनमा रहेको बताए । समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए । हाउजिङले हदबन्दी भन्दा बढीको जग्गा किन्न पाउने र घर बनाएर बेचबिखन गर्न पाइने मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीको जवाफपछि पनि सुवालले आफ्नो विरोधको सूचना फिर्ता लिएनन् ।

त्यसपछि बहुमतको आधारमा विरोधको सूचना प्रतिनिधि सभाले अस्वीकृत गर्‍यो । त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् ।

मन्त्री अधिकारीले यो विधेयक यही वैशाख २३ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । बुधबार प्रतिनिधि सभामा प्रस्तुत भएको हो । यसअघि अध्यादेश आएर परिवर्तन भएका र अध्यादेशमाफर्त गरिएका नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us