
काठमाण्डू, ३१ वैशाख– काठमाण्डूको बागबजारमा एक युवतीको हत्या भएको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ हाल काठमाण्डूको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले मंगलबार दिउँसो काठमाण्डूको नागढुंगाबाट पक्राउ गरेको हो । पन्त र नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा काठमाण्डू महानगरपालिका–२८ स्थित बागबजारको एक गेस्टहाउसमा पुगेका थिए ।
सोही गेस्टहाउसमा साँझ अन्दाजी पौने ६ बजेतिर तामाङ मृत फेला परेकी थिइन् । मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो । पन्त भने फरार थिए ।
हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो । करिब एक महिनापछि फर्केर काठमाण्डू आउँदै गरेका बेला उनी पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका पन्त पूर्व सैनिक हुन् । मृतक महिला र पन्त दुबै विवाहित हुन् ।