रवीन्द्र मिश्रलाई थुनामा राख्न आठौंपटक म्याद थप

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते २१:०० मा प्रकाशित

काठमाण्डू, ३० वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाण्डू जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनी गत १५ चैतमा तीनकुनेमा आयोजित राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।

प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहितलाई राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव र लुटपाट लगायत विभिन्न अभियोगमा अनुसन्धान भइरहेको छ । योसँगै मिश्रलाई अदालतले म्याद थप गरेको आठौंपटक हो ।

अदालतको आदेशपछि मिश्रलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने प्रक्रिया अघि बढाइएको काठमाण्डू प्रहरीका एसपी अपीलराज बोहराले बताए ।

प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधिमा मिश्रको संलग्नता रहेको दाबी गरिएको छ। यसका आधारमा मिश्रलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको हो ।

सोही प्रकरणमा पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर स्वास्थ्य समस्याका कारण थुनाबाहिर छन् । प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान नगरी स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अनुसन्धान अघि बढाएको छ ।

प्रदर्शनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंलाई पनि थुनामा छन् । उनलाई पनि संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग लगायतमा अनुसन्धान भइरहेको छ ।

राप्रपा र अन्य राजावादी समूहलले मिश्रको पक्राउ र थुनालाई राजनीतिक दमनको रुपमा लिएका छन् । उनीहरूले सरकारको आलोचना गर्दै मिश्रको रिहाइको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us