रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १७:२१ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ ।

गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रबाट पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि जिल्ला अदालत काठमाण्डूमा पेश गरिएको हो । राजावादीले १५ चैतमा काठमाण्डूको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका त्यस दिनको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै रहेका छन ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।  प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ । मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न १६ चैतमा पाँच दिनको अनुमति लिएको थियो ।

१६ चैतमा पाँच दिनको अनुमति पाएको थियो भने २० चैतमा पुनः सात दिनको म्याद पाएको थियो । प्रहरीले २७ चैतमा १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, १० वैशाखमा तीन दिन, १४ वैशाखमा सात दिन र २१ वैशाखमा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएकाले पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us