
काठमाण्डू, २९ वैशाख– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुमको सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओली रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो ।
दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन । उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् ।
सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।