जनतामा देखा परेको निराशा र असन्तुष्टिको दुरुपयोग राजावादीले गरेः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख २९ गते १७:२० मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन । आज (सोमबार) वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

प्रचण्डले भने, ‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ ।’ साथै, उनले वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखा परेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको आरोप समेत लगाएका छन ।

उनले भने, ‘हामीले त्यो अभियान चलाउँदै गर्दा काठमाडौंमा यो सरकारका गतल क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखा पर्‍यो ‘त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोशिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन् ।’

उनले राजावादीहरूले लगाएको घुर्कीविरुद्ध देशभरका जनता लाग्नुपर्ने जिकिर गरे । ‘उनीहरू तीनै राजामहाराजा होइनन्, जसले अढाइ सय वर्ष राज गरेर संसारको सबैभन्दा बढी देशको दर्जामा ल्याउने यिनीहरू नै होइनन् ?,’ प्रचण्डले भने, ‘आफ्नै राजा र राजपरिवारको हत्या हुँदा, हत्यारा पत्ता लगाउने कुरामा आँ पनि गर्न नसक्ने कायर यिनै होइनन् ? यिनीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us