
काठमाण्डू, २९ वैशाख– नयाँ कपडा किनिदिने भन्दै पीडित एक युवतीलाई भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिएका छन ।
यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्याएकी थिइन् । त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ ।
ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले जानकारी दिएका छन । यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।