फेरि सुरु भयो ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको सुनुवाइ

काठमाण्डु टुडे २०८२ वैशाख २८ गते १८:२४ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दा टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ आइतबारदेखि फेरि सुरु भएको अदालत स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले अहिले निरन्तर बहस गरिरहेका छन् । संवैधानिक इजलासले सोमबार बुद्धजयन्तीका दिन सार्वजनिक बिदा परेकाले मंगलबार (३० वैशाख) का लागि निरन्तर सुनुवाइको मिति तोकेको हो ।

५२ संवैधानिक पदाधिकारीहरूका कानुन व्यवसायीहरूले थप एक दिन बहस गर्ने र त्यसपछि रिट निवेदकहरूको तर्फबाट जवाफी बहस गर्ने तयारी रहेको छ ।

प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले सुनुवाइ सकिएको दिन संक्षिप्त आदेश गर्ने वा निर्णय सुनाउने मिति तोक्ने सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us