
काठमाण्डू, २८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन । आज (आइतबार) बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताए ।
संविधान संशोधनका लागि अधिकतम सहमति खोज्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने पनि बताएका छन ।
उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरेर सरकारको कार्यक्रम आएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने पनि बताएका छन ।
प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने पनि बताएका छन । त्यस्तै, उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने पनि बताएका छन ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।