सरकारलाई लिङ्देनको सुझावः गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस्

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको दाबी गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभाकोा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

उनले भने, ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही प्रयास गरेको हो कि, केही कोसिस गरेको हो कि फरक देखाउन भन्ने जस्तो देखिन्छ ।’

तर, यसवर्षको गत वर्षको जस्तो प्रयास गरेको नीति तथा कार्यक्रम आउन नसकेको उनको बुझाइ छ । आफूले टिपेर ल्याएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष नेपाली जनताको सुःख र समृद्धिकालागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउनेगरी सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गरेको लेखिएको थियो ।’

यस वर्षको नीति तथा कार्यक्रममा यस्तो नभनिएको उनले बताए । अगाडि भन्छन्, ‘गत वर्ष यो व्यवस्थाप्रति आशा जगाउन प्रयत्न गर्ने भन्ने थियो ।’ यसवर्ष फरक भाषा प्रयोग भएको र व्यवस्थाको रक्षार्थ लड्ने भनेर ल्याइएको उल्लखे गर्दै उनले यस्तो भाषाले सरकार कमजोर मनस्थितिमा रहेको देखाएको पनि उनले बताए ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको उनको भनाइ थियो । यसकारण आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने उनले बताए । यसलाई बन्देज लगाउन नमिल्ने पनि बताए ।

कतिपयले संविधानले पूर्ण खारेजीको माग गरिरहँदा आफूहरूले संविधान खारेजी नभएर संविधानभित्रै रहेर आफ्ना एजेण्डा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएको उनले बताएका छन ।

उनले भने, ‘तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तै,’ ‘अघिल्लो सरकारले आशा जगाउने काम गर्‍यो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us