
काठमाण्डू, २६ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्ने बताएका छन । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त गर्न बताएका हुन ।
कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए । त्यसमा सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ ।
प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’ कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन । संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ ।